अर्जुन पोख्रेल
गोदावरी माइक्रो बसपार्क छेउको सानो चौरमा मज्जाले गाइबस्तु चर्दैछन् । गाइवस्तुले छेउछाउका किरा फट्यांग्रा टिप्न कुखुराको हुल पनि तँछाड मछाड गरिरहेका छन । चौरमा झण्डै २० वटा पलाष्टिकले छाएका छाप्रा पनि पनि छन् । ति छाप्रा भूकम्प प्रभावितहरु हुन् । म चौरमा पुग्दा दिउसोको २ बजेको थियो । धेरैजना खाजाको तयारी गर्दैथिए तर एउटा छाप्रामा भने एकजना बुढा खाना पस्कदै थिए । दिउँसोको चर्को घाममा ४ वटा खुर्सानी र एक चम्चा नुनका भरमा खाना खाने तयारीमा रहेको देखेपछि म उनको छाप्रोतिर लागे
बुवा नमस्कार !
नमस्कार बाबु । मेरो त बल्ल खाना खाने ट्याम पो हुदैछ त । चिनजान भएजसरी नै उहाँ खुलेर कुराकानी गर्न तम्सनुभयो ।
भर्खरै खाना खादै हुनुहुदोरहेछ मैले डिस्टर्व पो गरेँ कि क्या हो ?
यो मुला बासी भात खानेलाइ डिस्टर्व न सिस्टर्व । यो ज्यानमारा घाममा के कामले पाल्नुभयो भन्नुस बरु । उहाँले वाताबरण सहज पार्ने प्रयास गर्नुभयो ।
पाल मुनीको बसाइ कस्तो छ भनेर बुझ्न म रेडियोबाट आएको । मैले कुरा खोलेँ ।
अनि मैले के गर्नुपर्यौ त ? कम्मरमाथीको शरिर नाङ्गो शरिरको मैलो मिच्दै उहाँ हास्नुभयो । काठमाडौं फर्कन ढिला भएकोले मैले बुवासँगको कुराकानी हतार हतारमा अगाडि बढाउने निधो गरेँ । मेरो उद्देश्य बर्खायाममा भूकम्प पीडितहरु पालमुनी कसरी बसेका छन् र सरकारी तथा गैरसकारी संस्थाबाट कति राहत पाए भन्ने जानकारी लिनु थियो ।
पहिला खाना खानुस अनि कुरा गरौला । मैले भनेँ ।
भै गो जाबो बासी भात जतिखेर खाएपनि हुन्छ । उहाँसँको कुराकानी चल्दैगर्दा गनगन गर्दै मधेसी मुलकी आमा आउनुभयो । मुस्कुराउनुभयो । दाँत सबै झरेका रहेछन । हाम्रो कुराकानी अघि नै सुन्नुभएको रहेछ क्यारे उहाँले भन्नुभयो ‘यसरी सोध्न धेरै मान्छेहरु आउछ तर केही दिदैन’ ।
तपाँइको नाम जान्न पाए हुन्थ्यो । मैले खुस्काउन नभ्याउदै उहाँले भन्नुभयो , मेरो नाम लालबहादुर मगर हो । पुख्यौली घर चै कता नी ? सिन्धुली बरौटे गाउँ हो । तर नाम मात्रको घर त हो ।
‘नाम मात्रको घर त हो’ यो भनाइले मेरो मन चसक्क भयो । अनि भूकम्प पीडितले पाउने राहत पाउनुभयो त ? मैले सोधेँ
कहाँ पाउनु बाबु, यहि सेन्ट जेभियर्स स्कुल नजिकै कोठा भाडामा बस्थेँ त्यो घर भत्कियो, सबै सामान पुरियो र यो चौरमा आएर बसियो । सरकारले पीडितलाइ २ लाख दिने भनेको छ, त्यसमाथी १५ हजार त धेरैले पाइसके तपाँइले पाउनुभएन ?
त्यो राहत पाउन नागरिकता चाहिन्छ तर मेरो नागरिकता छैन । आजसम्म पनि नागरिकता किन नबनाएको त भनेर मैले सोधेँ त्यसपछि केही भावुक भएर उहाँले आफ्नो जिवनको कथा भन्न थाल्नुभयो ।
मेरा बाउ पल्टने जागिरे हुन् । गाउँमा मलाइ कुनै सुविस्ताको कमि थिएन । गाउँमा खासै केही गर्न नसकेकपछि बाउले २० बर्षको हुदाँ गाउँ थर्कने गरि बाजा बजाएर बिहे गर्दिनुभयो । बिहे भएको २ बर्ष पछि जेठो छोरो जन्मियो र त्यसको २ बर्षमा फेरी छोरी पनी जन्मिइ । छोराछोरी नजन्मदै पनि बुढाबुढीको ट्वाक्क टुक्क झगडा परिरहन्थ्यो तर छोरी जन्मेपछि घरमा बुढिसँग धेरै नै झगडा हुन थाल्यो । कमाउन नसकेको भन्दै बुढिले कुचोले हान्न थालेपछि मन साह्रै बरालिन थाल्यो । एकदिन घरमा साह्रै ठुलो झगडा परेपछि म घरबाट हिँडे ।
सुरुमा त इन्डिया जाउँ जस्तो लागेको थियो तर काठमाडौंमा पनि काम पाइन्छ रे भनेको सुनेपछि केही केटाहरुसँग म पनि काठमाडौं आए । पहिला एक पटक काठमाडौं आएको थिए त्यति रमाइलो थिएन तर काम गर्न काठमाडौं आएको बेलामा त मलाइ काठमाडौं साह्रै रमाइलो पो लाग्यो ।
काठमाडौं आएपछि गाउँबाट आएका केटाहरु मिलेर कोटेश्वरमा बस्न थाल्यौं । घर बनाउने काम गथ्र्यौ । मलाइ घरको याद पनि आउन छाड्यो । त मलाइ एक्लै भएजस्तो लाग्यो कोही केटी भए त बिहे गर्थे जस्तो लाग्न थाल्यो । कतै केटी पट्ट्याउन पो सकिन्छ कि भनेर त्यो बेला ७ सय रुपैंयाको साइकलमा साइकल किनेँ । तर साइकल नयाँ भए पनि कमिजमा भने सिमेन्टको धुलैधुलो हुने । केटी त कहाँबाट पटिन्थे र । सिंहदरबारमा काम गर्दागर्दै एउटी केटि पनि काम गर्न आइ । १४ बर्षकी मधेसी टाइपकी केटी भएपनि त्यो केटी त मलाइ औधी मन पर्न थाल्यो ।
एकदिन भेटेर कुरा गरेको त उनका बा आमा दाजुभाइ कोही पनि रहेनछन् । बिराटनगरबाट दुख पाएर आएकी केटी पक्कै सोझी होली त्यै माथी टुहुरी । नाम त पछि पो थाहा पाएँ प्रमिला राजबंशी रहेछ । एउटा दलालले काठमाडौंमा काममा लगाइदिन ल्याएको रहेछ । संयोगले भेट भयो मलाइ पनि घरकी श्रीमती कसरी छाडौं भन्ने भएको उनलाई पनि एउटा अभिभावक जस्तो चाहिएको । भनेजस्तै भयो । दिनदिनै भेट हुन थाल्यो, ख्याल ख्यालैमा हाम्रो त ‘लभ’ पो परेछ ।
घरमा हिन्दु धर्म मान्दै आएको म काठमाडौं आएपछि क्रिश्चियन धर्ममा लागे । धेरै बर्षसम्म घरमा सम्पर्क भएन । श्रीमतीलाई त लगभग बिर्सेको थिएँ । २०५४ सालतिर हुनुपर्छ मैले त यीनै कान्छीसँग बिहे पो गरेँ त । मैले बिहे गरेको सुनेर केटाहरु त जिल्ल पो परे त । म कहाँको मगर उनि कहाँकी राजबंशी ।
सिन्धुली कहिलेकाँही जान मन लाग्छ तर एक त श्रीमतीले मान्छे लगाएर कुटाएर मार्छे कि भन्ने डर । अर्को म क्रिश्चियन उनिहरु हिन्दु मलाइ ठिक मान्दैनन् । मैले घरको सारा सम्पत्ति र छोराछोरीको माया मारेँ ल । २०५५ सालतिर प्रमिलाबाट पनि छोरा जन्मियो । दुख सुख जिवन चलाउन थाल्यौं । गोदावरीमा कोठा लियौं दुबैजनाले काम गरेर गुजारा चलाउन थाल्यौं । २०६५ सालतिर जेठी श्रीमति तिरको जेठो छोरोले म बसेको ठाउँ पत्ता लगाएर आयो । मेरो त सातोपुत्लो उड्यो । तर उसले त्यस्तो नराम्रो केही भनेन, बा मलाइ तपाँइको नागरिकता चाहियो पासपोर्ट बनाएर विदेश जान्छु । मैले पनि छोरै त हो भनेर आनाकानी नगरी नागरिकता दिएँ । छोरो विदेश गयो । तर उ त विदेशमै मरेछ । अब मेरो नागरिकता मैले पाउदिन होला । फेरी कागजात जुटाउन मलाइ समस्या छ । त्यसैले मैले राहतको आसा नगरेको ।
नागरिकताको कुरा सोधेको मैले उहाँको सारा जिवनको कुरा सुनेपछि केही भावुक पनि भएँ । अनि बल्ल थाहा पाएँ अघि छेउमा आएर गनगन गर्ने मधेसी मुलकी महिला त लालबहादुरकी बुढि पो रहिछन ।
छेउँबाट प्रमिला राजबंशी भन्दै हुनुहुन्थ्यो , मलाइ त घरमा श्रीमती छोराछोरी छ पनि भनेन , उसको श्रीमती छ भन्ने त मैले छोरा जन्मेपछि थाहा पाएको हो । तर छाडेर हिड्न मिलेन आइमाइको जात अनेक कुरा काट्छन । अब त यी बुढासँग बाच्ने हो । २ जना छोरा भैसके । उनी भन्दै थिइन ‘लभ’ ले जातभात र मधेसी केही भन्दोरहेनछ । तपाँइ आफै भन्नुस त नत्र कसरी हाम्रो ‘लभ’ पर्थ्यो र ।
प्रमिलालाइ एकपटक सिन्धुली गएर सौताको मुख हेर्न मन थियो र उनले नै लालबहादुरलाई मार्ने योजना बनाएको थाहा पाएपछि उनलाइ सौतादेखि साह्रै रिस उठेको छ । बुढाको चाँही साह्रै माया लाग्छ भन्छिन । ‘बुढाको मायाले गर्दा त होला नी बस्ने खाने र जिन्दगिको टुंगो नहुँदा पनि यीनकै साथमा छु नी’
लालबहादुरका दुबै जनालाइ सिन्धुलीमा जान मन छैन । हातखट्टा खियाउनु सकुन्जेल यतै बस्ने र चल्न छाडेमा जे पर्ला त्यै टर्ला । छोराहरु पढ्दैछन उनिहरुले पनि केही गर्लान की भन्ने आशा पनि छ । उहाँलाइ लागेको मान्छेले धर्मका आधारमा हेला गरेकोमा बैभन्दा चिन्ता लाग्छ । ‘भूकम्प पछि मलाइ चर्चले खाना दिएर बचाएको छ ,मेरा मनले रोजेको धर्म मैले मान्न नपाउने कहाँ लेखेको छ ?’ उहाँ गुनासो गर्दै हुनुहुन्थ्यो गाउँ गयो भने क्रिश्यिन लाइ पापी जस्तै बुझ्छन ।
बुढेसकालमा दोस्रो बिहे गरेका लालबहादुरले हाँसी हाँसी जिवन कथा सुनाइरहँदा म भने टिलपिलटिलपिल भएको थाहै पाएनछु ।



0 comments to "बुढेसकालको ‘लभ’ ले थातथलो गुम्यो"